▣ २०८३ मंसिर १२☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ मंसिर १२
⌂ गृह पृष्ठ|▤ समाचार · हेडलाईन

कलैयाका मिठाई कारखानामा अनुगमन : सुदामा स्विट्सलाई २ लाख जरिवाना

कलैयाका मिठाई कारखानामा अनुगमन : सुदामा स्विट्सलाई २ लाख जरिवाना

कलैया । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्यवस्तुको गुणस्तरमा लापरबाही गरेको पाइएपछि बाराको कलैयास्थित एक मिठाई उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।

कलैया उपमहानगरपालिका–१ मा रहेका दुई मिठाई पसलका कारखानामा शुक्रबार संयुक्त अनुगमन टोलीले छड्के निरीक्षण गरेको थियो। अनुगमनका क्रममा सुदामा स्विट्समा मिठाई उत्पादन तथा सरसफाइसम्बन्धी गम्भीर कैफियत भेटिएपछि कारबाही गरिएको हो।

जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा सुशील यादवको नेतृत्वमा पुगेको टोलीले कारखानाको अवस्था निरीक्षण गर्दा बिक्रीका लागि तयार पारिएका मिठाई खान अयोग्य रहेको, हाइड्रो प्रयोग गरिएको तथा सरसफाइमा पर्याप्त ध्यान नदिएको पाइएको जनाएको छ।

उपभोक्ता संरक्षण ऐनको दफा ३८ (ङ) अनुसार वस्तुको वास्तविक गुणस्तर लुकाई वा झुक्याएर बिक्री गरेको कसुरमा सुदामा स्विट्सलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो। साथै, पसल सञ्चालकलाई फर्मका सम्पूर्ण कागजातसहित सात दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

अनुगमन टोलीले कारखानाको सरसफाइमा विशेष ध्यान दिन, अखाद्य रङ प्रयोग नगर्न तथा मिठाई उत्पादनमा संलग्न कर्मचारीको व्यक्तिगत सरसफाइ सुनिश्चित गर्न पनि निर्देशन दिएको छ।

यसैगरी, कलैया–१ मै रहेको सिद्धार्थ स्विट्सको कारखानामा पनि अनुगमन गरिएको थियो। त्यहाँ नापतौलका लागि प्रयोग हुने काँटाको अनुमति पत्र पेस गर्नुपर्ने देखिएपछि तीन दिनभित्र आवश्यक कागजातसहित गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा उपस्थित हुन निर्देशन दिइएको छ।

संयुक्त अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका प्रमुख सुनिल चौरसिया, घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख जयकुमार राउत, गुणस्तर तथा नापतौल कार्यालयका सहायक निरीक्षक श्रीकान्त चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका श्रवणकुमार साह र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी सहायक निरीक्षक राजेश सहनीलगायत सहभागी थिए।

खाद्यवस्तुको गुणस्तर र सरसफाइमा हुने लापरबाहीले सर्वसाधारणको स्वास्थ्यमा असर पार्न सक्ने भएकाले यस्ता अनुगमनलाई नियमित र प्रभावकारी बनाउनुपर्ने देखिन्छ।

टिप्पणी (0)