▣ २०८३ मंसिर १२☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ मंसिर १२
⌂ गृह पृष्ठ|▤ समाचार · हेडलाईन

जिल्ला प्रशासन कार्यालयबाटै ७ जना बिचौलिया पक्राउ, सेवाग्राहीलाई दुःख दिएको आरोप

जिल्ला प्रशासन कार्यालयबाटै ७ जना बिचौलिया पक्राउ, सेवाग्राहीलाई दुःख दिएको आरोप

सरकारी कार्यालयमा सेवा लिन पुग्ने सर्वसाधारणलाई अनावश्यक झन्झट दिने तथा विभिन्न बहानामा दुःख दिने गरेको जनगुनासो बढेपछि काठमाडौंमा सात जना बिचौलिया पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौं परिसरबाटै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। सेवाग्राहीलाई हैरानी दिने गरेको गुनासो आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार कार्यालय परिसरमा निगरानी बढाएको थियो। सोही क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गेरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर बिष्ट र स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल रहेका छन्।

त्यस्तै काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी, ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी र तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम कृष्ण निरौला पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार सरकारी कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिने गरेको गुनासोका आधारमा उनीहरूमाथि कारबाही गरिएको हो।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

सरकारी कार्यालयबाट सहज रूपमा सेवा पाउनुपर्ने नागरिकलाई बिचौलियाका कारण समस्या हुने गरेको गुनासो लामो समयदेखि उठ्दै आएको छ। यस्तो अवस्थामा प्रशासन कार्यालय परिसरबाटै सात जना पक्राउ पर्नुलाई सेवाग्राहीलाई अनावश्यक झन्झटबाट मुक्त गराउने प्रहरीको प्रयासका रूपमा हेरिएको छ।

टिप्पणी (0)