पवन सिंह बारा।बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर उत्पन्न विवादले उग्र रूप लिएको छ। विवादका क्रममा गोली चलेको घटना सार्वजनिक भएपछि गाउँपालिकाको अवस्था तनावग्रस्त बनेको छ। घटनाक्रमका बीच केही मोटरसाइकलमा आगजनीसमेत गरिएको छ। नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति लोकेश सिंहले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै आन्दोलनरत पक्ष, आयोजक पक्ष तथा प्रहरी प्रशासनलाई संयमता अपनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवादका क्रममा गोली चलेको घटनाले गम्भीर अवस्था सिर्जना गरेको उल्लेख गरेका छन्। उनले फेटाको वर्तमान परिस्थिति तनावग्रस्त रहेकाले सबै पक्षलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका हुन्। सिंहले कुनै पनि समस्याको समाधान हिंसा नभई संवाद र सहमति भएको स्पष्ट पार्दै मानव जीवनको सुरक्षा र सामाजिक सद्भावलाई प्राथमिकतामा राख्न सबै पक्षलाई अपिल गरेका छन्। साथै, घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। उनले आन्दोलनरत पक्ष, आयोजक पक्ष र प्रहरी प्रशासनबीच संयमता कायम हुनुपर्नेमा जोड दिँदै सम्भावित थप अप्रिय घटना रोक्न सबैलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
अस्पतालजस्तो जनताको आधारभूत स्वास्थ्य सेवासँग जोडिएको विषयमा उत्पन्न विवादले हिंसात्मक रूप लिनु चिन्ताको विषय बनेको छ। विवाद समाधानका लागि सम्बन्धित पक्षबीच संवाद र सहमतिको वातावरण निर्माण गर्न आवश्यक देखिएको छ।













टिप्पणी (1)