कलैया । तिहार, छठ तथा नेपाल संवत्लगायतका पर्वहरू शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउन जिल्ला प्रशासन कार्यालय बाराले जिल्लावासीसँग अपिल गरेको छ। जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै चाडपर्वका अवसरमा सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमनचयन कायम राख्न आग्रह गरेका हुन्। प्रशासनले आफूले पर्व मनाउँदा अन्य धर्मावलम्बी, छिमेकी, व्यक्ति तथा समुदायको सार्वजनिक जीवनमा असर नपर्ने गरी गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। देउसी–भैलोलगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमलाई मर्यादित रूपमा सञ्चालन गर्न पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। तिहार तथा छठ पर्वका क्रममा पटाका, भुइँचम्पा र आतिशबाजीजस्ता प्रज्वलनशील पदार्थको भण्डारण, बिक्री वितरण, ओसारपसार तथा प्रयोग नगर्न प्रशासनले चेतावनी दिएको छ। यस्ता पदार्थको प्रयोगले सर्वसाधारणको स्वास्थ्य, सुरक्षा र जनजीवनमा प्रतिकूल असर पार्ने प्रशासनको भनाइ छ। त्यस्तै, दीप प्रज्वलन तथा विद्युतीय उपकरणको प्रयोग गर्दा आगलागीको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सट्टेबाजी, जुवा, तासलगायतका कानुनले निषेध गरेका गतिविधि नगर्न तथा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला, झैझगडा र अशान्ति सिर्जना गर्ने कार्यबाट टाढा रहन पनि प्रशासनले अनुरोध गरेको छ। चाडपर्वको समयमा बजारमा अखाद्य तथा म्याद गुज्रिएका वस्तुको बिक्री वितरण, अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई सचेत गराइएको छ। सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न, तोकिएकोभन्दा बढी भाडा नलिन र जोखिमपूर्ण यात्रा नगर्न पनि प्रशासनले आग्रह गरेको छ। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारणमा प्रतिबन्ध रहेकाले त्यस्ता गतिविधि नगर्नसमेत विज्ञप्तिमा उल्लेख छ। शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने कुनै पनि अवाञ्छित गतिविधि भएको जानकारी पाएमा तत्काल नजिकको प्रहरी इकाई वा प्रहरी कन्ट्रोल रुमको १०० नम्बरमा खबर गर्न प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ। विज्ञप्तिमा उल्लिखित निर्देशनविपरीतका गतिविधि सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ। यसैबीच, जिल्ला प्रशासन कार्यालय बाराले २०८३ सालको दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ लगायतका राष्ट्रिय पर्वहरूको अवसरमा जिल्लावासी, राष्ट्रसेवक कर्मचारी, सरकारी तथा गैरसरकारी संस्था, निजी तथा संगठित संस्थामा आबद्ध पदाधिकारी, कर्मचारी र सञ्चारकर्मीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ।
तिहार र छठ पर्व शान्तिपूर्ण रूपमा मनाउन बाराका प्रशासनको अपिल, पटाका र जुवातासमा प्रतिबन्ध
अमरज्योती डेली AI सारांश
सट्टेबाजी, जुवा, तासलगायतका कानुनले निषेध गरेका गतिविधि नगर्न तथा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला, झैझगडा र अशान्ति सिर्जना गर्ने कार्यबाट टाढा रहन पनि प्रशासनले अनुरोध गरेको छ।
शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने कुनै पनि अवाञ्छित गतिविधि भएको जानकारी पाएमा तत्काल नजिकको प्रहरी इकाई वा प्रहरी कन्ट्रोल रुमको १०० नम्बरमा खबर गर्न प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय बाराले २०८३ सालको दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ लगायतका राष्ट्रिय पर्वहरूको अवसरमा जिल्लावासी, राष्ट्रसेवक कर्मचारी, सरकारी तथा गैरसरकारी संस्था, निजी तथा संगठित संस्थामा आबद्ध पदाधिकारी, कर्मचारी र सञ्चारकर्मीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ।














टिप्पणी (0)