मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा विद्युतीय गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा परी घटनास्थलमै १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ३ महिला, २ बालिका र ५ जना पुरुष रहेका छन्। मृतकहरूको पहिचान भने खुल्न सकेको छैन। मृतकमध्ये अधिकांश सर्लाही जिल्लाका रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ३ जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीलगायत सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गर्नुका साथै मृतकहरूको शव हेटौंडा ल्याउने प्रक्रिया अघि बढाएको छ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ८ किलोमिटर उत्तरतर्फ पर्दछ। दुर्घटनाको कारण तथा मृतकहरूको पहिचानबारे थप विवरण आउन बाँकी रहेको छ।














टिप्पणी (0)