कलैयामा कुटपिटपछि मृत्यु : परिवारका सदस्यसहित ५ जना पक्राउ गरी सार्वजनिक

अमरज्योती डेली
302 Views
1 Min Read

कलैया : जिल्ला प्रहरी कार्यालय बाराले नन्दु राउत कुर्मीको हत्यामा संलग्न पाँच जना आरोपितलाई सार्वजनिक गरेको छ।

प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले पत्रकार सम्मेलन गरी शुक्रबार उनीहरूलाई सार्वजनिक गरेका हुन्।

जेठ २९ गते बेलुका कलैया उपमहानगरपालिका–१४ स्थित बघवन टोलमा रहेको उमेश साहको राइस मिलअगाडि कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका नन्दु राउत कुर्मीको उपचारका क्रममा कलैया अस्पतालमा मृत्यु भएको थियो।

मृतकका २६ वर्षीय छोरा दिपेन्द्र पटेलले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै मुख्य अभियुक्तसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूमा बघवन टोलका ४० वर्षीय उमेश जैसवाल, उनकी ३५ वर्षीया श्रीमती रञ्जु देवी, उनका छोराहरू—२५ वर्षीय अमित जैसवाल, २० वर्षीय सुमित जैसवाल, १८ वर्षीय सुजित कुमार जैसवाल तथा ३४ वर्षीय दिगम्बर प्रसाद जैसवाल रहेका छन्।

प्रहरी अनुसन्धान अनुसार मृतक नन्दु राउत कुर्मीले आफ्नी नातिनी र करैयामाई गाउँपालिका–७ का गौतम पासवानबीच भेट गराएका थिए। सोही विषयलाई लिएर मृतककी श्रीमतीले उमेश जैसवालका कान्छा छोरा सुजित कुमारलाई झगडा गरी हातपात गरेकी थिइन्। त्यसैको रिसिवीले उमेश परिवारले मिलमै पुगेर नन्दुलाई कुटपिट गरेको प्रहरीको दाबी छ।

मुख्य अभियुक्त उमेश जैसवाललाई बिश्रामपुर गाउँपालिका–४ स्थित खुदिया टोलबाट बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *