कलैया : बारामा मधेश प्रदेश सरकारअन्तर्गत चालु आर्थिक वर्षको अन्तिम समयमा सञ्चालन भइरहेका विकास योजनामा ठेकेदारहरूको जथाभावी मनपरी बढ्दो छ।
अधिकांश योजनामा फर्जि उपभोक्ता समितिको नाम मात्रै बनाएर योजनाको सम्पूर्ण नियन्त्रण ठेकेदारहरूले लिएको पाइएको छ । प्रदेश सरकारको बारामा अहिले थुप्रै योजना यसरी नै गरेर असारे बिकास भैरहेको छ ।
त्यस्तै खालको एक योजना हो,जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ स्थित गंगानगर बमनहरदेखि नयाकाटोला जाने सडक ढलान योजना हो । करिब ४५ लाख रुपैयाँ बजेट रहेको यो योजना पूर्वमुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा आएको हो। तर निर्माणको जिम्मा ठेकेदार राजकिशोर कुशवाहाले लिएका छन् र उनले उपभोक्ता समिति गठन गरेर नाम मात्रैको प्रक्रिया पुरा गरेका छन्।
यो योजना सुरु हुँदा जिल्ला भौतिक पूर्वाधार विकास कार्यालयकी साइट इन्जिनियर आरती चौधरीलाई जानकारी समेत नदिइएको पाइएको छ। कार्य क्षेत्रमा कुनै सूचना बोर्ड पनि राखिएको छैन।
जुन नियम अनुसार राख्न अनिवार्य हो। सुशासन ऐन २०६४ अनुसार,पाँच लाख रुपैयाँभन्दा बढी लागतमा सञ्चालन हुने हरेक योजनामा सूचना पाटी राख्नुपर्ने प्रावधान स्पष्ट रूपमा उल्लेख गरिएको छ। उक्त पाटीमा योजना सुरु हुने मिति,समाप्त हुने मिति,लागत,निर्माण गर्ने संस्था वा उपभोक्ता समिति सम्बन्धी विवरण उल्लेख गर्नुपर्ने हुन्छ।
स्थानीय बासिन्दाहरूले जब कामको विरोध गरे,ठेकेदारले पूर्वमुख्यमन्त्रीको नाम लिँदै धाकधम्की दिएको बताइएको छ। स्थानीय न्यू समृद्ध युवा क्लबका उपाध्यक्ष महाराज यादवले भने, “कामको गुणस्तर कमजोर छ,स्थानीयले प्रश्न गर्दा ठेकेदारले गाली गर्छन्,शक्ति देखाउँछन्।”
त्यस्तै किसान जनमत संघका अध्यक्ष गगनदेव कुशवाहाले पनि ठेकेदारले उपभोक्ता समितिको नाममा काम गरेर भ्रष्टाचार गरिरहेको बताएका छन । इन्जिनियर आरती चौधरीका अनुसार सुरुमा गरिएको ढलान ठीक नभएपछि ठेकेदारलाई सच्याउन भनिएको थियो। अहिलेको काम पहिलाको भन्दा अलि राम्रो भए पनि बिल तिर्दा मूल्यांकन घटाएर मात्र गर्न भनिएको उनले जानकारी दिइन्।
यता ठेकेदार राजकिशोर कुशवाहासँग प्रतिक्रिया लिन फोन गर्दा उनको मोबाइल (९८१४२१२३९०) अफ रहेको थियो ।यस्तो अवस्थामा सार्वजनिक सम्पति कहाँ खर्च भइरहेको छ भन्ने जनतालाई थाहा नहुनु,योजना सार्वजनिक नहुनु र ठेकेदारको मनपरी हुनु गम्भीर विषय हो।



