उत्कृष्ट अनुसन्धानकर्ता सई सुभाष यादव भए असार महिनाका उत्कृष्ट प्रहरी

अमरज्योती डेली
107 Views
3 Min Read

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तर्गत इलाका प्रहरी कार्यालय कर्मैयाका कार्यालय प्रमुख प्रहरी नायब निरिक्षक (सई)  सुभाष यादव असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

असार महिनामा सर्लाही जिल्ला भरमा उत्कृष्ट काम गरेको भन्दै  यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले  यो पुरस्कारले सम्मान गरेको हो। हरेक महिना जिल्ला प्रहरी कार्यालयले राम्रो काम गर्ने प्रहरीलाई कदरस्वरूप यस्तो पुरस्कार दिने गरिएको छ।

विभागीय मूल्य–मान्यता,आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गर्दै अपराध नियन्त्रण, अनुसन्धान,उद्धार कार्य तथा सीमावर्ती अपराध नियन्त्रणमा उल्लेखनीय कार्य प्रदर्शन गरेका आधारमा यो निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जनाए।

भारतको बिहार राज्यअन्तर्गत सोनबर्षा थानाको समन्वयमा नक्कली नेपाली रूपैयाँ रु १००० दरले १७६ थानसहित ५ जना तथा सोही दिन थप २० थान नक्कली नोट,१ नलकटुवा पेस्तोल र १० राउण्ड गोलीसहित २ जना भारतीय नागरिकलाई प्रनानी यादव सफल रहेको उनको कार्य विवरणमा उल्लेख छ।

भारतको बसतपुरमा बन्धक बनाई राखिएका बागमती नपा–१० का १८ वर्षीय शेख जयसको सकुशल उद्धार गर्न उनी सफल भएका हुन्।
१० किलो गाँजासहित विनरेक्स१०० एमएल औषधि सहित मोहन खत्री र उनकी पत्नी लाई उनले पक्राउ गरेका हुन्। घरमै गाँजा पुरिया बनाई बेचिरहेको अवस्थामा १६ किलो गाँजासहित मानबहादुरलाई  पक्राउ गर्न उनी सफल भएका हुन्।

विभिन्न मितिमा करिब रु ४ करोड ३६ लाख बराबरको अवैध सामान (कबाड, लहसुन, इलेक्ट्रोनिक्स, हार्डवेयर, रबर, सुपारी, मेडिसिन, मेसिन आदि) सहित १० ट्रक पथलैया भन्सार उनले पठाएका हुन्। भुसमा लुकाई दुबई लैजान लागिएको ८२० केजी काजु, ट्रक र चालकसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पथलैया राजश्व कार्यालय पठाइएको छ।

भारतबाट अहिले सम्म २९ जना बालबालिकाको उद्धार गरिएको छ।  जसमध्ये असार महिनामा मात्र  ४ जना तत्काल उद्धार गरी नेपाल ल्याइएको छ। जघन्य अपराधका विभिन्न मुद्दामा फरार रहेका १८२ जना प्रतिवादीलाई पक्राउ गरी अदालती प्रक्रियामा पठाइएको छ।

घरेलु हिंसा,बालबालिका हराउने मुद्दा तथा ठाडो उजुरीका विषयमा लैङ्गिक संवेदनशीलताका साथ कार्य गर्दै प्रहरी संगठनको छवि उच्च राख्न प्रभावकारी भूमिका निर्वाह गरेको बताइएको छ।

यसका साथै, गत वर्ष उनलाई तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरद्वारा ‘उत्कृष्ट अनुसन्धानकर्ता’को उपाधि प्रदान गरिएको थियो।

भारतको चर्चित दैनिक ‘भास्कर न्यूज’८८लगायत मिडियाले विभिन्न समयमा उनको कामको प्रशंसा गर्दै समाचार कभरेज गरेको पाइएको छ।

इमान्दारिता, सक्रियता र समाजप्रतिको उत्तरदायित्वलाई उच्च मूल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालय,सर्लाहीका कार्यालय प्रमुख योगेन्द्र खड्काले २०८२ साल असार महिनाको उत्कृष्ट प्रहरी घोषित गर्न सिफारिस गरेका हुन्।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *