कलैया । सशस्त्र प्रहरी बल नेपाल गण नं. १२ का गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको नेतृत्वमा बारा जिल्लामा अवैध ओसार–पसारविरुद्ध चलाइएको अपरेसनमार्फत करिब १० लाख ५५ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको छ।
मटिअर्वा सीमा इलाकामा प्र.सि.सु. गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुधीर खतिवडाको कमाण्डमा खटिएको टोलीले बुधवार कलैया उपमहानगरपालिका–१० मा भारतबाट मोटरसाइकलमार्फत ल्याइँदै गरेको अन्दाजी २ लाख मूल्य बराबरका सामानसहित तीनवटा मोटरसाइकल बरामद गरेको छ।
उक्त बरामद सामान तथा मोटरसाइकलसहितको मूल्य करिब ४ लाख ७० हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।
त्यस्तै जिल्ला सुरक्षा बेस कलैयाबाट सशस्त्र प्रहरी नायब निरीक्षक दिलीप कुमार सिंह थारु नेतृत्वको खटिएको टोलीले कलैया–५ बरेवा सडक खण्डमा चेकजाँच गर्ने क्रममा यात्रुवाहक अटोबाट १ लाख १४ हजार रुपैयाँ बराबरका भन्सारछली ल्याइएका लेडिज कपडा बरामद गरेको छ।
विओपी गोलागञ्जका सहायक निरीक्षक शिवशंकर चौधरी नेतृत्वको खटिएको टोलीले मोटरसाइकलसहित १ लाख १२ हजार ७ सय ९० रुपैयाँ बराबरका किराना सामान बरामद गरेको छ ।
त्यसैगरी सुरक्षा बेस जितपुरबाट नायब निरीक्षक बिक्रम पौडेलको कमाण्डमा खटिएको टोलीले बिहिवार बिहान जितपुरसिमरा–९ छतापिपरामा यात्रुवाहक बसको डिक्कीभित्र लुकाइएका ३ लाख ५९ हजार रुपैयाँ बराबरका रेडिमेड कपडा बरामद गरेको बाराका एसपी केसीले जानकारी दिए।
उनका अनुसार बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा आजै बुझाइने छ।



