४४ गणमध्ये पहिलो स्थान हासिल गर्ने बारा गणका एसपी केसी पुरस्कृत

अमरज्योती डेली
15 Views
2 Min Read

कलैया,०९ माघ । सशस्त्र प्रहरी बल नेपालको २५ औँ स्थापना दिवस (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी सम्मानित भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोकमा आयोजित रजत महोत्सव विशेष समारोहबीच सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालबाट एसपी केसीलाई पुरस्कार प्रदान गरिएको हो।

एसपी केसीले बारा गणको कमाण्ड सम्हालेपछि सीमा सुरक्षामा देखिएका चुनौती, अवैध कारोबार, तस्करी तथा विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको उच्च मूल्यांकन गर्दै उनलाई पुरस्कृत गरिएको हो। एक वर्षे कार्यकालभित्र उनले प्रदर्शन गरेको कार्यक्षमता, नेतृत्वदक्षता र नतिजामूलक कामका आधारमा देशभरका ४४ गणमध्ये बारा गण पहिलो स्थान हासिल गर्न सफल भएको जनाइएको छ।

कमाण्ड सम्हालेपछि एसपी केसीले भौतिक पूर्वाधार सुदृढीकरणमा विशेष ध्यान दिँदै स्थानीय तहसँग प्रभावकारी समन्वय गरेका छन्। यस क्रममा आन्तरिक कार्यालय परिसरभित्र नमुनायोग्य मेस, ब्यारेकलगायत संरचनाको निर्माण तथा व्यवस्थापन सुधार गरिएको छ, जसका कारण कार्यालयको वातावरण, सौन्दर्य र कार्यक्षमता थप व्यवस्थित तथा आकर्षक बनेको देखिन्छ।

त्यसैगरी, सीमा क्षेत्रमा परिमाणमुखी र प्रभावकारी ड्युटी परिचालन तथा विशेष अपरेसनमार्फत करिब ५ करोड रुपैयाँ बराबरका विभिन्न अवैध सामान बरामद गरी भन्सार दाखिला गरिएको छ। साथै, विभिन्न समय र स्थानबाट उल्लेखनीय मात्रामा तयारी गाँजा, अफिम तथा लागुऔषधजन्य ट्याबलेटहरू बरामद गरी सम्बन्धित निकायलाई बुझाइएको छ।

आर्थिक अनुशासनमा शून्य सहनशीलता र व्यावसायिक कुशलता कायम राख्न एसपी केसीको नेतृत्व निर्णायक सावित भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *