बारा । सशस्त्र प्रहरी बलले बाराको विभिन्न स्थानहरुबाट करिब पाँच लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
कलैया उपमहानगरपालिका–२० बसतपुर इलाकास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक धनबहादुर राना मगरको कमाण्डमा खटिएको ९ जनाको गस्ती टोलीले शनिबार आँप घारीमा वेवारिसे अवस्थामा लुकाइएको करिब २ लाख ६० हजार रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।
उक्त बरामद सामानमध्ये ८ बोरा रेडिमेड कपडा अन्दाजी २ लाख ५० हजार रुपैयाँ बराबरको र १ बोरा पटाका अन्दाजी १० हजार रुपैयाँको रहेको छ। बरामद रेडिमेड कपडा र पटाकाहरू आवश्यक कारबाहीका लागि गुल्ममा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै पचरौता नगरपालिका–१ मुसहर बस्ती सीमाक्षेत्रमा प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातिबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजनलाल श्रेष्ठको कमाण्डमा खटिएको टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेका दुई व्यक्तिबाट अन्दाजी ४२ हजार ९ सय रुपैयाँ बराबरका रेडिमेड कपडा र गहना बरामद गरेको छ । जिल्ला सुरक्षा बेस कलैयाको टोलीले कलैया–३ दुर्गा स्कुल क्षेत्रबाट करिब ५२ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी विश्रामपुर गाउँपालिका–४ खुदिया सीमाक्षेत्रमा एफ.ओ.बी बलिरामपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक सूर्यप्रसाद रेग्मीको टोलीले शुक्रबार भारतबाट अवैधरूपमा ल्याउँदै गरेको करिब १ लाख ५० हजार रुपैयाँ बराबरको १६८ थान कुर्ता–सुरुवाल बरामद गरिएको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका गणपति एवंम् प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिएका छन । उनका अनुसार बरामद गरिएका सबै सामान आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालय बुझाइने छ ।



