कलैयामा कुटपिटपछि हत्या : चार जना पक्राउ

अमरज्योती डेली
250 Views
2 Min Read

कलैया : पुरानो रिसिवीका कारण कुटपिट गरी हत्या गरिएको घटनामा संलग्न रहेको अभियोगमा बारा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जेठ २९ गते कलैया उपमहानगरपालिका–१४, बघवन टोल निवासी ५० वर्षीय नन्दु राउत कुर्मीलाई सोही स्थानका ४० वर्षीय उमेश जैसवालसहित ६ जनाको समूहले निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका कुर्मीलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो। तर, चिकित्सकले उपचारकै क्रममा उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि अनुसन्धान अघि बढाएको प्रहरीले सोही दिन २८ वर्षीय दिगम्बर साह कलवारलाई पक्राउ गरी ज्यानसम्बन्धी कसूरमा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको थियो।

फरार रहेका अन्य अभियुक्तहरूको खोजी गर्ने क्रममा प्रहरी निरीक्षक खेमप्रसाद नेपालको नेतृत्वमा खटिएको विशेष टोलीले बुधबार थप तीन जनालाई फरक–फरक स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक महिला कलैया उपमहानगरपालिका–५ स्थित सागर लामिछानेको घरमा लुकेर बसेको अवस्थामा फेला परेकी हुन्। बाँकी दुई पुरुषलाई पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१, शान्ति टोलस्थित बसिर मियाँको घरबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा कुटपिटका मुख्य आरोपी उमेश जैसवालकी ३८ वर्षीया श्रीमती रन्जु जैसवाल, २० वर्षीय छोरा सुमित जैसवाल र १८ वर्षीय छोरा सुजितकुमार जैसवाल रहेका छन्।

प्रहरीले उनीहरूलाई पनि बारा जिल्ला अदालतबाट म्याद थप गराई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ। साथै, घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *