कलैया । बाराको कलैया उपमहानगरपालिका–२३ सिसहनिया चौक नजिक आइतबार राति भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको उपचारकै क्रममा मृत्यु भएको छ।
वीरगञ्जबाट कलैया तर्फ आउँदै गरेको ना १ ज १९४१ नम्बरको टाटा सुमोले कलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ५९ प ४०५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर २३ बैराटपुर निवासी ३४ वर्षीय उपेन्द्र राउत कुर्मी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइते कुर्मीलाई तत्कालै परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारका लागि लगिएको थियो। टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।
दुर्घटनापछि टाटा सुमो चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको डिएसपी पण्डितले जानकारी दिए। दुर्घटनामा संलग्न दुवै सवारीसाधन जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ।
मृतकको शव अहिले सोही अस्पतालमै राखिएको छ। यता आक्रोशित स्थानीयवासीले बैराठपुर चौकमा टायर बाल्दै प्रदर्शन गरेका छन्।



