वीरगञ्ज : पर्सा प्रहरीले भारी परिमाणमा लागु औषध चरेश सहित एउटा ट्रकलाई नियन्त्रणमा लिनुको साथ ट्रक चालकलाई पक्राउ गरेको छ।
काठमाण्डौबाट वीरगञ्जतर्फ आउदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्।
ट्रक चालक मकवानपुर थाहा नगरपालिका वडा नं.१२ बस्ने वर्ष ३६ को बुद्धी बहादुर स्याङ्तानलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो। स्याङ्गतान विरुद्ध लागु औषध सम्बन्धी कसूरमा अनुसन्धानको लागि पर्सा जिल्ला अदालतबाट पर्सा प्रहरीले पाँच दिन म्याद थप गराएको छ।
ट्रकमा लागु औषध चरेश लोड गरी ल्याएको छ भन्ने सूचना प्रहरी चौकी सिर्सिया पर्साका कार्यालय प्रमुख प्रहरी बरिष्ठ नायब निरीक्षक गगन बहादुर शाहीलाई प्राप्त भएको थियो। शाहीले जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रमा सो कुरा जाहेर गरेका थिए।
यसपछि जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी टोलीले सो नम्बरको ट्रकलाई खोजतलास गर्ने क्रममा पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोकबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले ट्रकको खानतलासी गर्दा उक्त ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र सुनियोजित तरिकाले लुकाइ छिपाइ राखिएको अवस्थामा लागु औषध चरेश १३ पोकामा बरामद भएको हो।
जुन ३१९ के.जी.फेला परेको हो। यस्तै चालक स्याङ्तानले लगाएको हाफ पाइन्टको दाहिने खल्तीमा एक लाख ९२ हजार रुपैयाँ समेत फेला परेको र एक थान मोबाईल समेत बरामद भएको पर्सा प्रहरीले जनाएको छ।



