सशस्त्र प्रहरीद्वारा बारामा आठ लाख मूल्यका अवैध कुखुरा र सामान बरामद

अमरज्योती डेली
97 Views
2 Min Read

कलैया,०९ भदौ । सशस्त्र प्रहरी बलले बाराको विभिन्न स्थानहरूबाट करिब आठ लाख रुपैयाँ बराबरको अवैध ब्रोईलर कुखुरा तथा अन्य सामान बरामद गरेको छ।

मटिअर्वास्थित सीमा सुरक्षा गुल्म र कवहीगोठ बीओपीले क्रमशः कलैया उपमहानगरपालिका–१० मटिअर्वा र सुवर्णपुर–३ सन्तगंज सीमा क्षेत्रबाट अवैध २२० किलो जिउँदो ब्रोईलर कुखुरा सहित तीनवटा मोटरसाइकल बरामद गरेको छ। उक्त सामानको मूल्य करिब रु. ५ लाख ३ हजार ४ सय रहेको सशस्त्र प्रहरीले जनाएको छ।

त्यस्तै बिओपी बरैनियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक सुजल भण्डारी कमाण्डमा खटिएको टोलीले शनिबार विश्रामपुर गाउँपालिका–३ मुसहर्वा सीमा क्षेत्रमा ११७ र २५० पिस घुम्ने कुर्सीमा प्रयोग हुने चक्का बरामद गरेको छ। सो बरामद सामग्रीको अन्दाजी मूल्य रु. ९१ हजार ५ सय ७३ रहेको छ।

यसैगरी एफओबी बलिरामपुरबाट नायब निरीक्षक हरि प्रसाद लम्सालको कमाण्डमा खटिएको टोलीले शुक्रबार विश्रामपुर गाउँपालिका–४ खुदिया सीमा क्षेत्रमा भारतीय मोटरसाइकलमार्फत नेपालतर्फ ल्याइँदै गरेको रेडिमेड कपडा बरामद गरेको छ। उक्त बरामद गरिएको कपडाको मूल्य करिब रु. १ लाख २१ हजार ५ सय रहेको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै जिल्लाका अन्य विभिन्न स्थानहरूबाट किराना सामग्री रु. ८५ हजार बराबरको समेत बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल नं. १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर केसीका अनुसार बरामद गरिएका अवैध ब्रोईलर कुखुरा नष्ट गरिएको छ भने अन्य सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *